काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिकाले समूह चरणको पहिलो खेलमै सानदार जित दर्ता गरेको छ।
शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो।
खेलको प्रारम्भमै अमेरिकाले अग्रता लिएको थियो। पाराग्वेका डामिन बोबाडिलाले आत्मघाती गोल गरेपछि अमेरिका अघि बढ्यो। त्यसपछि फ्लोरिन बालोगनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थपे। दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गर्दै अमेरिकाको जितलाई ४–१ मा सुनिश्चित गरे।
पाराग्वेले दोस्रो हाफको ७१औँ मिनेटमा मौरिसियोमार्फत एक गोल फर्काए पनि खेलमा फर्किन सकेन।
यो जितसँगै अमेरिका समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की रहेका छन्।
यसैबीच, प्रतियोगिताअन्तर्गत शुक्रबार राति भएको अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेल खेलेका छन्।

