काठमाडौं ।
जनसांस्कृतिक महासंघ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन भव्य रूपमा आज सम्पन्न भएको छ। जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा मण्डला ब्याङ्कवेटमा सम्पन्न सम्मेलनको अध्यक्षता महासंघ नेपालका इन्चार्ज कमरेड चिरन पुनले गर्नुभएको थियो।
वीर सहिदहरूप्रति मौन धारण गर्दै सुरु भएको सम्मेलनमा कलाकारहरूले अन्तर्राष्ट्रिय गीतसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कलाकारहरूले गीत तथा कवितामार्फत जनसांस्कृतिक आन्दोलनका भावनाहरू प्रस्तुत गरेका थिए।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीले देश र जनताको रक्षा गर्ने बताउनुभयो। उहाँले कम्युनिस्टहरू परिवर्तनका बाहक भएको उल्लेख गर्दै आन्दोलनभित्र रहेका कमजोरी र विकृतिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो।
“अहिले व्यक्तिवाद हावी भइरहेको छ। नयाँ पुस्तालाई विचार र भावनाले ओतप्रोत गर्दै आन्दोलनप्रति जिम्मेवार बनाउन आवश्यक छ,” नेपालले भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्यसंयोजन समितिका सदस्य गंगा नारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति र नेपाली समाजवादी संस्कृति अहिले रक्षात्मक अवस्थामा रहेको उल्लेख गर्दै अब त्यसलाई प्रभावकारी र आक्रामक दिशातर्फ अघि बढाउनुपर्ने बताउनुभयो।
उहाँले कला, साहित्य र संस्कृतिलाई सामाजिक परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
सम्मेलनमा भाषा आयोगका पूर्व अध्यक्ष डा. गोपाल ठाकुर, जनसांस्कृतिक महासंघ नेपालका सह–इन्चार्ज उदय श्रेष्ठ, प्रमुख जनवर्गीय संगठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, भाषा आयोगका सदस्य तथा पूर्व इन्चार्ज मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो।
मातृका पोखरेलले शुभकामना मन्तव्य दिँदै थोरै कुरा बोकेर पनि प्रभावकारी काम गर्न सकिने बताउनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनमा कामभन्दा बढी कुरा हुने प्रवृत्तिबाट सचेत हुनुपर्ने धारणा राख्नुभयो।
सम्मेलनले जनसांस्कृतिक महासंघ नेपालको संगठनलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व संरचना निर्माण गरेको छ। सम्मेलनबाट कमरेड भीम कुमाखी संयोजक र कमरेड अष्ट लामा सह–संयोजक रहेको ५१ सदस्यीय कार्यालय टिम, सचिवालय तथा केन्द्रीय समिति निर्माण गरिएको जनाइएको छ। त्यस्तै सम्मेलनले ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति समेत गठन गरेको छ।
कार्यक्रममा प्रस्तुत गरिएको विधान तथा प्रतिबद्धता पत्र इन्चार्ज चिरन पुनले प्रस्तुत गर्नुभएको थियो। सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको छ।

