नन्दलाल खरेल
जन्मदिनको यो सुन्दर दिनमा,
हृदयभरि माया र शुभकामना लिएर,
तिमीलाई सम्झिरहेको छु प्रिय,
दूरीमा भए पनि मन नजिकै राखेर।1।
तिमी केवल मेरो जीवनकी साथी होइनौ,
मेरो हिम्मत हौ, भरोसा हौ, प्रेरणा हौ,
जीवनका उकाली–ओरालीमा पनि
अडिग भएर साथ दिने मेरो शक्ति हौ।2।
अफ्ठ्यारा मोड र कठिन घुम्तीहरूमा,
कहिल्यै थाकिनौ, कहिल्यै रोकिइनौ,
मेरो हात समाउँदै यात्रामा
सधैं विश्वासको दीप जलाइरह्यौ।3।
तिम्रो त्याग, धैर्यता र निस्वार्थ माया,
मेरो जीवनको सबैभन्दा ठूलो उपहार हो,
तिम्रो साथले नै मेरा हरेक सपना
अझ सुन्दर र अर्थपूर्ण बनेका छन्।4।
आज तिमी टाढा छौ,
तर मेरो माया तिमीसँगै छ,
तिम्रो मुस्कान र खुसीका लागि
मेरो हरेक प्रार्थना तिमीसँगै छ।5।
जन्मदिनको धेरै धेरै शुभकामना मेरी बसन्ता,
तिमी सधैं खुशी, स्वस्थ र उज्यालो रहनू।
मेरो मन, मुटु र जीवनमा
तिम्रो स्थान सधैं विशेष रहनेछ।6।

