काठमाडौं।
नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी १५औँ महाधिवेशनलाई पार्टी एकताको केन्द्रविन्दु बनाउँदै कांग्रेसलाई देशकै सबैभन्दा सशक्त राजनीतिक तथा सांगठनिक शक्तिका रूपमा स्थापित गर्ने अभियान देशव्यापी रूपमा तीव्र बनाइएको बताएकी छन्।
पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरमा आयोजित सांगठनिक अन्तरक्रिया, अगुवा कार्यकर्ता तथा जनप्रतिनिधिसँगको छलफलपछि काठमाडौं फर्किएकी डा. संग्रौलाले पार्टीभित्र रहेका मतभेद अन्त्य गर्दै सबै शक्ति महाधिवेशनको तयारीमा केन्द्रित भएको बताइन्। उनले पार्टीको सातबुँदे सांगठनिक कार्ययोजना कार्यान्वयन गर्दै क्रियाशील सदस्यता अध्यावधिक, नयाँ सदस्यता विस्तार तथा छुटेका सदस्यलाई समेट्ने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी दिइन्। कांग्रेसले देशभर १० लाख क्रियाशील सदस्य पुर्याउने लक्ष्यसहित डिजिटल माध्यमबाट घर–घरमा पार्टीको सन्देश पुर्याउने अभियानलाई समेत तीव्र बनाएको उनले स्पष्ट पारिन्।
पाँचथरमा ८५ प्रतिशतभन्दा बढी सदस्यता अध्यावधिक भइसकेको उल्लेख गर्दै डा. संग्रौलाले विगतको निर्वाचनमा देखिएको पार्टी एकतालाई कायम राख्दै आगामी महाधिवेशनलाई ऐतिहासिक सफलतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। उनले स्थानीय सरकारहरूलाई युवामैत्री र महिलामैत्री कार्यक्रम सञ्चालन गर्न, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई समयमै अधिवेशन सम्पन्न गरी गाउँ–टोलसम्म संगठन विस्तार गर्न निर्देशन दिइएको जानकारीसमेत दिइन्।
पूर्वी पहाडको आर्थिक विकासका लागि इलामलाई पर्यटन, चिया र फलफूल उत्पादनको केन्द्र तथा पाँचथरलाई स्वास्थ्य, शिक्षा, अलैँची र चियाको बजार व्यवस्थापन हबका रूपमा विकास गर्न कांग्रेसले नीतिगत नेतृत्व लिनुपर्ने धारणा पनि उनले व्यक्त गरिन्। डा. संग्रौलाले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउँदै “१५औँ महाधिवेशनलाई कांग्रेसको एकता, रूपान्तरण र नयाँ ऊर्जाको आधार बनाइने” प्रतिबद्धता व्यक्त गरिन्।

