मान्छे जसै मन्दिर
शार्दूलविक्रीडित
बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं
मान्छे बन्न तयार हुन्छ मनले मान्छे नबन्ने भयो
रातो रक्त बहन्छ शोक घरमा ऐया नभन्ने भयो
मेरो मात्र म हुन्छु साथ तनको साथी म मेरै भएँ
छोड्दै मानवता सबै तरहको एक्लै म बन्दै गएँ
दुख्दा यो तन बाहुली प्रणयको हाँस्दा कता भेटियो
धेरै त्रास भयो भनी सहरमा आत्मा भने रेटियो
पालो कुर्छ समाजले सहजको होला कि बाटो भनी
कस्तो शासन हुन्छ आज घरमा आफ्नो पराई बनी
जल्छन् राग विशाक्त भाव जनका पोका निकाली पर
हुन्छन् देह विचार मुक्तलयमा विश्वास टुट्ने डर
होला शून्य विचारमा सरलता होला अझैँ सागर
तर्छन् रोग र शोकबाट सहजै होला जहाँ आदर
बेलामा जति सोच राख्न सकिए घट्छन् अनाडी जर
हुन्छन् साथ सधैं सफा हृदयका सर्छन् स्वयम् सागर
राख्दैछन् बलियो बियो सबलको बन्ने भयो अब्बल
मैला छन् जति व्योमका जटिलता छुट्छन् सबै दल्बल
बोक्दै सागर तिक्त हुन्छ नुनिलो पायो जहाँ जे भरी
चोखो हो तर बस्छ त्यो कमल यो आभा सुनौलो छरी
त्यस्तै मानवता बनोस् हृदयमा सम्मानका खातिर
मान्छे बन्न सकोस् सधैँ भुवनमा मान्छे जसै मन्दिर

