– माधव घिमिरे ‘अटल’
कौशला लामिछानेको एघारौँ स्मृति दिवसका अवसरमा कौशला लामिछाने स्मृति कोषले वसन्त काव्य शृङ्खला सम्पन्न गरेको छ । बूढानीलकण्ठ नपा-२ महादेव कोलोनीमा अवस्थित पुष्प वाटिकामा प्रमुख अतिथि बूनपाकी उपप्रमुख तथा प्रखर प्रगतिशील कवि अनिता लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवपुस्ताका समृध्दि बास्तोला, श्रेया पोखरेल, कृष्णा पोखरेल, अध्येता चालिसे, सृष्टि पोखरेल, सन्दर्शिका अधिकारी, राधा पोखरेल, ऋकेश भण्डारी ‘ऋगीश’, निश्चल पराजुली, आल्फी फोहेन फाक्लुप्पा लगायत एक दर्जन तथा पूजा श्रेष्ठ, उत्तम विचार, राजेन्द्र घिमिरे ‘सागर’, प्राज्ञ चेतनाथ धमला लगायत आधा दर्जन स्रष्टाले आआफ्ना काव्यिक सिर्जना वाचन गरेका थिए भने स्थानीय बुध्दिजीवी तथा पथप्रदर्शक जयगोपाल श्रेष्ठले गीत गाएर कार्यक्रमको शोभा बढाएका थिए ।
प्रमुख अतिथि बूनपा उपप्रमुख अनिता लामाले महिला विभेद विरुध्दको आफ्नो सिर्जना वाचन गर्दै कार्यक्रम पुष्प वाटिकामा आयोजना गरेकामा आयोजकप्रति आभार व्यक्त गरिन् । उनले नवपुस्तामा देखिएको काव्यचेतको सराहना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने रचनालाई बढी प्राथमिकता दिन आग्रह गरिन् । उनले कुनै पनि वहानामा हुने विभेदको डटेर मुकाबिला गर्न नवस्रष्टाहरूलाई आह्वान समेत गरिन् ।
कार्यक्रममा वाचित कविताको सटीक शल्यक्रिया गर्दै प्रगतिशील कवि तथा साहित्यिक अभियन्ता वासुदेव अधिकारीले समकालीन विषयवस्तुको चेत कविहरूमा नभएकोमा दुखेसो गरे । ‘एक कल्ली धनियाँ’ शीर्षकीय कवितामा एउटा अर्थतन्त्रको रेखाचित्र खिचेका अधिकारीले नवपुस्तालाई आफ्ना सिर्जना समकालीन समाजको दर्पण बनाउन आग्रह गरे ।
कौशला लामिछानेको परिवारको तर्फबाट उनका भाइ हरिशरण लामिछानेले स्मृति कोषले सम्पन्न गरिसकेका काम र अब गर्नुपर्ने कामको फेहरिस्त प्रस्तुत गर्दै आमन्त्रितहरूको स्वागत गरे भने सहआयोजक त्रिशूली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष तथा समकालीन कालखण्डका चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोलले कौशला लामिछानेको बहुआयामिक सिर्जनशीलता तथा त्रिशूली वाङ्मयका गतिविधिबारे प्रकाश पारे ।
बूनपा वार्ड नं.-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बूनपाले आफ्नो कार्यकालमा गरेको विकास, निर्माण तथा कला र साहित्यले समाजलाई गर्नुपर्ने मार्गदर्शनबारे सङ्क्षेपमा विवेचना गरे । 
कविहरू बलराम दाहाल, भैरवी भूगोल, प्रभाती किरण, कृष्णकिसु न्यौपाने, पुरू लम्साल, होमशङ्कर बास्तोला लगायत स्थानीय टोलसुधार समितिका दिग्गज व्यक्तिहरूको समुपस्थितिमा सञ्चालित उक्त कार्यक्रमको औचित्य र आगामी योजनाबारे आफ्नो गहन राय राख्दै दुवै संस्थाका अध्यक्ष तथा कार्यक्रमका पनि अध्यक्ष आरएम डङ्गोलले कार्यक्रमको बिट मारे ।

