काठमाडौं । अमेरिका र इरानबीच सम्भावित युद्धविराम तथा तनाव न्यूनीकरणबारे हुन लागेको महत्वपूर्ण वार्ताका लागि इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानको राजधानी इस्लामावाद प्रस्थान गर्दैछ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको निमन्त्रणामा हुन लागेको भेटवार्तामा इरानले आफ्नो उच्चस्तरीय टोली पठाउन लागेको हो। पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मुकद्दमले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्दै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोपसहित कूटनीतिक प्रयासमा अवरोध पुगेको टिप्पणी गरेका छन्।
उनका अनुसार यो भ्रमण इरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित गम्भीर वार्तासँग सम्बन्धित छ। वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गर्ने बताइएको छ।
इरानको प्रस्तावमा होर्मुज जलमार्गमा नियन्त्रण कायम राख्ने र इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने मुख्य माग समावेश छन्। केही दिनअघि भएको अस्थायी युद्धविराम सहमतिपछि दुवै पक्ष पुनः वार्तामा बस्न तयार भएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई “व्यवहारिक आधार” भन्दै केही विवादास्पद बुँदामा सहमति नजिक पुगेको संकेत गरेका छन्। उनले आगामी दुई साताभित्र सम्झौता अन्तिम हुने विश्वास पनि व्यक्त गरेका छन्।
यसअघि इरानले आंशिक रूपमा होर्मुज जलमार्गमा नाकाबन्दी लगाएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित भएको थियो, जसले अन्तर्राष्ट्रिय इन्धन मूल्यमा समेत ठूलो प्रभाव पारेको बताइएको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार इस्लामावादमा हुने यो वार्ता क्षेत्रीय स्थायित्व र विश्व ऊर्जा बजारका लागि निर्णायक मोड बन्न सक्ने देखिएको छ।

