काठमाडौं । लखनउ सुपर जाइट्न्सले कोलकाता नाइट राइडर्स विरुद्ध ३ विकेटको रोमाञ्चक जित हात पारेको छ। इडेन गार्डेनमा भएको खेलमा लखनऊले १८२ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै शानदार जीत निकालेको हो।
लखनऊको जितमा मुकुल चौधरी नायक बने। उनले २७ बलमा अविजित ५४ रन बनाउँदै टोलीलाई जित दिलाए। उनको इनिङ्समा २ चौका र ७ छक्का समावेश थिए। उनले अभेष खानसँग आठौँ विकेटका लागि ५४ रनको अविजित साझेदारी गरे, जसमा अभेषले ३ बलमा १ रन मात्र जोडे।
त्यसअघि आयुष बदोनीले पनि ५४ रन बनाए। ओपनर मिचेल मार्श १५ र एडेन मारक्रम २२ रनमा आउट भए। कप्तान ऋषभ पन्त १० रनमै पवेलियन फर्किँदा निकोलस पूरन (१३) र अब्दुल समाद (२)ले खास योगदान दिन सकेनन्।
कोलकाताका लागि नवदीप सैनी र वैभव अरोरा ले समान २–२ विकेट लिए। सुनिल नारिनले किफायती बलिङ गर्दै १ विकेट लिए भने कार्तिक त्यागी र क्यामरन ग्रिन ले १–१ विकेट लिए।
यस जितसँगै लखनऊले तीन खेलमा दोस्रो जित निकाल्दै अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन कोलकाता भने चार खेलबाट १ अंकसहित नवौँ स्थानमा छ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। फिन एलेन ९ रनमै आउट भए पनि कप्तान अजिन्क्या रहाणे ले ४१ रन बनाए। अंगक्रिस रघुवंशीले ४५ रनको उत्कृष्ट इनिङ्स खेले। रिंकु सिंह ४ रनमा आउट हुँदा क्यामरन ग्रिन ३२ र रोभमन पवेल ३९ रनमा अविजित रहे।
लखनऊका प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र अभेष खानले समान १–१ विकेट लिए।
Previous Articleस्थानिय र पश्चिमी वायु सक्रिय : आज यी प्रदेशमा वर्षाको सम्भावना
Next Article इस्लामावादमा आज अमेरिका–इरानबीच कूटनीतिक वार्ता

