काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरले देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहँदा तराईमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

