भक्तपुर । सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा भक्तपुरमा सुरु भएको छ। साँझ पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथ घट्खा टोलतर्फ लगिँदै र भैरवनाथको रथ (भैलखः) तानातान गर्दै जात्राको औपचारिक सुरुआत गरिएको हो। अब भक्तपुर नौ दिन आठ रातसम्म जात्राको रौनकमा हुने छ।
काठले बनेको प्यागोडा शैलीको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताललाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानेर लैजाने परम्परा छ। रथ तान्नुअघि खड्ग, तरवार र निशान राखिन्छ। पहिलो दिन भैलखःलाई अगाडि पाँच र पछाडि चार डोरी प्रयोग गरी दुवै टोलका बासिन्दाले तानातान गर्दै आ–आफ्नो क्षेत्रतर्फ लैजान्छन्, जसलाई जात्राको मुख्य आकर्षण मानिन्छ। यस क्रममा रथलाई दत्तात्रयसम्म पुर्याएर पुनः तेखापुखु हुँदै गःहिटीमा फर्काइन्छ।
भैलखः तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल हुँदै तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो हुँदै दत्तात्रयसम्म फैलिएको छ। दोस्रो दिनलाई शून्य मानिन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानबाट विशेष पूजा गरिन्छ। सो बलिको मासु ‘स्याःक्वःत्याःक्वः’ नामले प्रसादका रूपमा वितरण गरिन्छ।
चौथो दिन ५५ हात लामो यसींद्योः ल्यसिंङखेल मा उभ्याइन्छ, जसले पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमन संकेत गर्छ। यसमा बाँधिएका विश्वध्वजा र वीरध्वजाले विशेष धार्मिक अर्थ बोकेका छन्। धार्मिक विश्वासअनुसार यसींद्योः हेर्दा शत्रु नाश हुने मानिन्छ।
वैशाख १ अर्थात् नयाँ वर्षको दिन चुपिङघाट र ल्यसिंङखेलमा भक्तजनको ठूलो भीड लाग्छ। भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गरिन्छ। साँझ यसींद्योः ढालेर भैलखः र भद्रकालीको रथ जुधाइ ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ।
जात्राको छैटौँदेखि आठौँ दिनसम्म महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरीलगायत देवीदेवताका विभिन्न जात्रा तथा सिन्दूर जात्रा, खटजात्रा र सगुन जात्रा सञ्चालन हुन्छन्। अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा समापन गरिन्छ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रालाई प्राचीन अभिलेखमा ‘विश्व जात्रा’ भनेर उल्लेख गरिएको पाइन्छ र यो भैरवनाथ तथा भद्रकालीसँग सम्बन्धित पर्व हो। उनले नाग–नागिनीसँग जोडिएको प्रचलित किंवदन्तीलाई भ्रमपूर्ण बताएका छन्।
जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए। सम्भावित झडप र दुर्घटना रोक्न दिउँसोमै रथ तान्ने व्यवस्था मिलाइएको छ भने सिसी क्यामेरा सहित निगरानीसमेत कडा पारिएको छ। साथै रथमा सीमित व्यक्तिलाई मात्र चढ्न अनुमति दिइएको छ।

