काठमाण्डौ। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीविरुद्ध दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने आदेश दिएको छ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीसम्बन्धी अभियोग यथावत् कायम रहने, तर अन्य कसुरतर्फको अभियोग दाबी कायम नरहने गरी मुद्दा संशोधन गर्न आदेश दिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले लामिछानेसहित अन्य प्रतिवादीविरुद्ध लगाइएका सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गतका अभियोग हटाउने गरी मुद्दा संशोधन गर्न आदेश दिएको हो।
अदालतको आदेशसँगै अब उक्त मुद्दामा प्रतिवादीहरूमाथि सहकारी ठगीसम्बन्धी अभियोगमा मात्रै कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।

