काठमाडौँ। काठमाडौँ उपत्यकाका सवारी सञ्चालकहरूको गम्भीर लापरवाही देखिएको छ ।
विभिन्न स्थानमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको सवारी जाँच अभियानमा एक हजार ९२२ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई रुपैयाँ राजस्व सङ्कलन भएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, राइड सेयरिङ गर्ने १९८, रातोबत्ती उल्लङ्घन गर्ने १२६, तीव्र गतिमा सवारी चलाउने १३१, लेनक्रस गर्ने ७३, फुटपाथ प्रयोग गर्ने ९०, हर्न निषेध क्षेत्र उल्लङ्घन गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १०५ तथा अन्य विभिन्न कसुरमा ९८६ चालक रहेका छन्।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको स्मरण गराउँदै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको आशङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
यसैबीच, लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। सडक दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लापसे’ चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली, लागुऔषध नियन्त्रण ब्यूरो, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले चालकहरूको विशेष परीक्षण गरेको थियो। परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेर सवारी चलाइरहेको पुष्टि भएपछि पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये दुई जना बस चालक, एक जना मिनी ट्रक चालक, एक जना लाइट गाडी चालक र एक जना हात्ती भ्यान चालक रहेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँचबाट लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

