महोत्तरी । महोत्तरी जिल्लाको नदीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँमा तीन बालिका तथा गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार मनरासिस्वा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी १२ वर्षीया अफसाना खातुनको अङ्कुशी र जङ्घा नदीको दोभानमा डुबेर मृत्यु भएको हो । उनीहरू नुहाउन गएको समयमा खुट्टा चिप्लिएर नदीमा डुबेका थिए ।
यस्तै, गौशाला नगरपालिका–४ रजखोर गाउँ निवासी नरेश महतोकी दुई वर्षीया छोरी दीपिका कुमारीको घर नजिकै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रमेश लामाका अनुसार चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

