काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।
व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था भएमा थुनामा राख्न नपर्ने स्पष्ट गरेको हो।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको प्रक्रिया नै त्रुटिपूर्ण रहेको ठहर गर्दै त्यसलाई खारेज गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा गत वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो।

