काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले देशका आठ विश्वविद्यालयका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।
समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि आवेदन खुला गरिएको हो ।
उपकुलपति छनोट तथा सिफारिससम्बन्धी प्रक्रिया र मापदण्ड समेटिएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।
यससँगै उच्च शिक्षाका प्रमुख शैक्षिक संस्थाहरूमा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ, जसलाई विश्वविद्यालयहरूको भावी शैक्षिक दिशा निर्धारणसँग जोडेर हेरिएको छ ।

