काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको हो।
सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यसपटक पनि प्रतिनिधिसभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा सञ्चालन हुनेछ भने राष्ट्रियसभाको बैठक अघिल्लैझैँ संसद् सचिवालय परिसरस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते हुने संयुक्त बैठकअगावै प्रतिनिधिसभा कक्ष तयार पारेर हस्तान्तरण गर्ने मौखिक जानकारी दिएको छ । हाल उक्त कक्षमा रङरोगन, आन्तरिक सजावट तथा आधुनिक प्रविधियुक्त उपकरण जडानका काम तीव्रगतिमा भइरहेका छन् ।
यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, पूर्व–बजेट छलफल, विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक माथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी, आकस्मिक, शून्य, विशेष र प्रश्नोत्तर समयमार्फत सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दा उठाउनेछन् । पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरू पनि यसै अधिवेशनमा प्रस्तुत हुनेछन् । संसद्को पहिलो बैठक बसेको मितिले ६० दिनभित्र ती अध्यादेशको टुंगो लाग्नुपर्ने संवैधानिक व्यवस्था छ, अन्यथा ती स्वतः निष्क्रिय हुनेछन् ।
हाल प्रतिनिधिसभामा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक विचाराधीन छन् भने वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । राष्ट्रियसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ विचाराधीन छ । यसबाहेक विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन तथा नियमावली मस्यौदा समितिका प्रतिवेदनहरू पनि संसद्मा छलफलको प्रतीक्षामा रहेका छन् ।

