काठमाडौँ — नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दै संगठन सुदृढीकरण र निर्वाचन समीक्षा अभियानलाई औपचारिक रूपमा अघि बढाउने भएको छ।
पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को आयोजनामा धनगढीमा हुने उक्त भेलामा सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता रहनेछ। उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन्।
विशेष महाधिवेशनपछि पार्टीले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट संगठनात्मक संवाद सुरु गर्न लागेको हो। भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद, मन्त्री तथा पार्टी नेतृत्वबीच सामूहिक छलफल गर्ने जनाईएको छ।
सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकन, तथा आगामी रणनीतिबारे विस्तृत बहस हुनेछ। पहिलो चरणमा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको रिपोर्टिङ प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा केन्द्रीय नेताहरूले मार्गदर्शनात्मक सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, २७ गते स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा अन्य सरोकारवालालाई लक्षित प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ, जसमा उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिने जनाइएको छ।
कांग्रेसले सुदूरपश्चिमबाट थालेको यो अभियानलाई संगठन पुनर्संरचना, कार्यसम्पादन समीक्षा र आगामी राजनीतिक मार्गचित्र तय गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

