काठमाडौँ — नेपाल ए ले एकदिवसीय खेलमा युनाईटेड स्टेट नेशनल क्रिकेट टिमलाई तीन विकेटले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदै पूरा गरेको हो।
नेपालको जितमा मयान यादव नायक बने। उनले ८० बलमा ७२ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। उनको पारीमा चार चौका र दुई छक्का समावेश थिए। त्यसअघि ओपनर त्रितराज दास ले २३ रन जोड्दा कप्तान अनिल साह ले २७ रनको योगदान दिए। देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोरा ले मध्यमक्रम सम्हाल्दै ३६ रन बनाए भने कुशल मल्ल ले ३३ रन जोडे।
खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफ ले आक्रामक ब्याटिङ गर्दै १५ बलमा अविजित २४ रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरे। दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव १ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
अमेरिकाका लागि मिलिन्द कुमार ले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थी ले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मित पटेल ले १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रनको शानदार शतकीय पारी खेले ।
ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेल ले २० रन जोडे। सैतेजा मुक्कामल्ला ले १० तथा मिलिन्द कुमार ले सात रन बनाए। त्यसपछि शुभम रञ्जाने ले १६, सञ्जय कृष्णमुर्थी ले १५ तथा शेहान जयसूरिया ले सात रनको योगदान दिए।
अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्याए।
नेपाल ‘ए’ का लागि पवन सर्राफ ले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशी ले समान एक–एक विकेट लिए।

