काठमाडौँ — स्वर्णिम वाग्ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गर्ने वा थुन्ने कुनै तयारी नगरेको स्पष्ट पार्दै यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई सरकारको महत्त्वपूर्ण साझेदारका रूपमा चित्रण गर्दै भने, ‘हल्लाको पछि नलाग्नुस्, तपाईंहरू हाम्रो साझेदार हो।’ उद्योगी–व्यवसायीलाई थुन्ने वा नियन्त्रण गर्ने कुनै सूची सरकारले नबनाएको उनको स्पष्टोक्ति थियो।
अर्थमन्त्री वाग्लेले १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सरकारको दीर्घकालीन लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने बताए। उनले सरकारका पाँच प्रमुख प्राथमिकता पनि सार्वजनिक गरे। उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य सम्पर्क विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी वृद्धि, र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत मुलुकको सौम्य शक्ति विस्तार रहेको छ।
मुलुक अहिले अर्थतन्त्रको दिशा परिवर्तन गर्ने निर्णायक मोडमा रहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे। राजनीतिक स्थायित्व, स्पष्ट नीति र इमानदार कार्यान्वयनबाट आर्थिक रूपान्तरण सम्भव रहेको उनको भनाइ थियो।
छिमेकी भारतको उदाहरण प्रस्तुत गर्दै उनले नरेन्द्र मोदी नेतृत्व सम्हालेको समयको आर्थिक अवस्था र नेपालको हालको अवस्थाबीच केही समानता रहेको उल्लेख गरे।
पछिल्लो एक दशकमा भारतले आर्थिक क्षेत्रमा उल्लेखनीय फड्को मारेजस्तै नेपालले पनि सही दिशा समाते तीव्र प्रगति गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।

