सुनौलो टोल विकास संस्था ले समुदायमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यसहित नयाँ पुस्तक अध्ययन अभियान सुरु गरेको छ। संस्थाले आज २०८३ वैशाख २६ गतेदेखि अभियानको औपचारिक थालनी गरेको हो। अभियानअन्तर्गत प्रत्येक सहभागीले एक महिनासम्म एउटा पुस्तक अध्ययन गर्न पाउने व्यवस्था गरिएको संस्थाले जनाएको छ। अभियानको पहिलो दिनमै सहभागीहरूलाई आफ्नो इच्छाअनुसार पुस्तक छनोट गर्ने सुविधा प्रदान गरिएको थियो।
२०७९ सालमा त्रियुगा नगरपालिकामा विधिवत दर्ता भई सञ्चालनमा आएको संस्था संगमटोलको उत्तर–पश्चिम क्षेत्रमा सक्रिय रूपमा कार्यरत छ। संस्थाले बचत सङ्कलन, ऋण लगानी, सामाजिक सचेतना लगायतका विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ। पुस्तक पढ्ने बानीको विकास गर्दै समुदायमा सकारात्मक चेतनाको विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको अध्यक्ष बिन्द्र तामाङ ले बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष सरिता पौडेल गुरागाइँ ले “पुस्तक किन पढ्ने ?” विषयमा सहभागीहरूलाई सहजीकरण गर्दै पुस्तकले व्यक्तित्व विकास, ज्ञान वृद्धि र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
अभियान सञ्चालनका लागि आवश्यक पुस्तकहरू धनकुमार श्रेष्ठ द्वारा निःशुल्क रूपमा उपलब्ध गराइएको हो। श्रेष्ठ नेपाल लाइब्रेरी फाउन्डेसन का महासचिव, गृहपुस्तकालय अभियानका केन्द्रीय संयोजक तथा संगम टोल सुधार समितिका अध्यक्ष समेत हुनुहुन्छ। संस्थाले आगामी दिनमा पनि पुस्तक अध्ययन अभियानलाई निरन्तरता दिँदै समुदायमा अध्ययन संस्कृतिको विस्तार गर्ने जनाएको छ।

