काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षाको सम्भावना बढेको छ।
हाल मधेश, बागमती र गण्डकी प्रदेश सहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराईका अधिकांश भूभागमा आंशिक बदली रहेको छ। केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपात को सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्ने, कृषिकार्यमा संलग्न हुने तथा चट्याङको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

