काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–ट्वान्टी विश्व वरियताअन्तर्गत अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रले २४५ रेटिङ अङ्कसहित आफ्नो स्थान सुरक्षित राखेका हुन्।
टी–ट्वान्टी अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर रजा ३२८ रेटिङ अङ्कसहित रहेका छन्। भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन्।
यस्तै, एकदिवसीय क्रिकेटको अलराउन्डर वरियतामा दीपेन्द्रले तीन स्थान सुधार गर्दै २८औँ स्थान बनाएका छन्। उनको रेटिङ अङ्क १५३ पुगेको छ। नेपालका अर्का खेलाडी करण केसी भने तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्।
एकदिवसीय ब्याटिङ वरियतामा पनि दीपेन्द्रले दुई स्थान सुधार गर्दै ९९औँ स्थान हात पारेका छन्। त्यस्तै नेपाली ओपनर आसिफ शेख १३ स्थान उक्लिँदै ९३औँ स्थानमा पुगेका छन्।

