काठमाडौँ । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ ।
नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले एक विज्ञप्ति जारी गर्दै सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिएका हुन् ।
विभागका अनुसार वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तीन नेपाली सरोही छन् भने दुई विदेशी छन् । सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहेका छन् । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध रहेको उल्लेख गरिएको छ।
यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि आरोहणका क्रममा मृत्यु भएको छ ।
आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।

