काठमाडौँ । चारवर्षे कार्यकाल पूरा गरी अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी तथा झण्डा हस्तान्तरण गरेका छन्। साथै उनले सङ्गठनको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सङ्गठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। सङ्गठन सुधार निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै उनले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
नवनियुक्त महानिरीक्षक पौडेलले सङ्गठनका स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा कार्यान्वयन गरिने बताए। साथै, सङ्गठनलाई राज्य र जनताप्रति विश्वासयोग्य बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
समारोहमा अवकाशप्राप्त महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी तथा सशस्त्र प्रहरीका वरिष्ठ र कनिष्ठ अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो।

