कास्की । पर्यटकीय राजधानी पोखरामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरामा आयोजित महिलातर्फको यो पहिलो प्रतियोगिता हो। आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा शुक्रबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
पुलिसको जितमा राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोल गरिन्। यस्तै, निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे।
खेलको पाँचौँ मिनेटमा रेखाले पहिलो गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि दशौँ मिनेटमा निर्मलाले गोल गर्दै अग्रता दोब्बर पारिन्। २७औँ र ३५औँ मिनेटमा थप दुई गोल गर्दै रेखाले ह्याट्रिक पूरा गरिन् भने ३७औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरिन्। पहिलो हाफ सकिँदासम्म पुलिस ५–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि पुलिसले आफ्नो दबदबा कायम राख्दै थप तीन गोल गर्यो। ५०औँ मिनेटमा साहाराले गोल गरिन् भने ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौँ गोल पूरा गरिन्। एक गोल भने आत्मघाती (उपहार) रह्यो। उत्कृष्ट प्रदर्शनका लागि रेखा पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा आयोजक आरएस पोखरा र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ। शनिबार हुने दोस्रो खेलमा आर्मी र सङ्कटाबीच प्रतिस्पर्धा हुनेछ, जसको विजेताले फाइनलमा पुलिससँग भिड्नेछ।
वैशाख २० गते हुने फाइनल खेलको विजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीलाई ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ। अनुशासित टिमलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

