काभ्रेपलाञ्चोक । जिल्लाको बनेपामा हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। करिब २ हजार ५०० वर्षअघिदेखि विशेषगरी स्थानीय नेवार समुदायले यो जात्रा मनाउँदै आएका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि तीन दिनसम्म मनाइने जात्राका लागि बनेपा सहरको उत्तर–पूर्वी क्षेत्रमा रहेको चण्डेश्वरी मन्दिर र आसपासका क्षेत्रलाई रङरोगन गरी सिँगार्ने परम्परा छ। आज बिहानैदेखि घरघरबाट मन्दिरमा पूजा–आराधना गरिँदै जात्राको शुभारम्भ गरिएको हो।
जात्राको पहिलो दिन राति हनुमानढोकाबाट ल्याइने तरबार (खड्ग) सहित मन्दिरभित्र रहेका पिङ देवताहरूलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिन्छ। साथै बिहानै जलेश्वर महादेवसम्म मत पूजा (चिराग यात्रा) सम्पन्न गरिएको स्थानीयवासी मनिष भोछिभोयाले जानकारी दिए।
उनका अनुसार दोस्रो दिन बनेपाको तीनधारामा तयार पारिएको पाङ्ग्रा नभएको रथ (खट)लाई भेडा बलि दिइएपछि स्थानीय युवाहरूले बाजागाजासहित ‘ल्हाका पालुं हाः’ भन्दै बोकेर चण्डेश्वरी मन्दिर पुर्याउने चलन छ। रथ लैजाँदा बजारका घरघरबाट झ्यालमा उभिएर स्थानीयले उत्साह थप्ने परम्परा पनि रहिआएको छ।
मन्दिर नजिक रथ पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई रथमा राखिन्छ। भोलिपल्ट रथ बोकेर फर्किँदा स्थानीयले घर–घरबाट प्रसाद झ्यालबाटै देवीलाई चढाउने गर्छन्। तुलसीको काठबाट बनेको सानो रथमा देवीलाई राखी नगर परिक्रमा गराउने प्रचलन छ।
पूर्णिमाको भोलिपल्ट बकुटोलमा चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरी समाधि गरिएको स्थान रहेको विश्वास गरिन्छ। सो स्थानमा रथ पुर्याएर विशेष पूजाआजा तथा बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवालले बताए।
रथलाई प्राचीन लायकू दरबारसम्म पुर्याई त्यहाँबाट पुनः अर्को सानो रथमा राखेर वकुटोल ल्याइन्छ। तेस्रो दिन अपराह्न देवीको मूर्तिलाई पुनः मन्दिरमा फर्काएपछि जात्रा समापन हुने गर्दछ।
जात्रा अवधिभर टोलटोलमा भजनकीर्तन हुने, सडक र गल्लीमा भक्तजनको भीड लाग्ने गर्दछ। शक्तिकी अधिष्ठात्री देवीका रूपमा पूजिने चण्डेश्वरीको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने स्थानीय वृद्ध रामचन्द्र श्रेष्ठले बताए।
उनका अनुसार जात्रामा सहभागी हुँदा ‘मागेको पूरा हुने’ जनविश्वास रहिआएको छ। बनेपाबाट अन्यत्र बसाइँ सरेका व्यक्तिहरू पनि यो जात्रामा सहभागी हुन अनिवार्य रूपमा फर्किने गर्छन्।
धार्मिक परम्परा अनुसार घरहरू शुद्धीकरण गरिने र सरकारी तवरबाट समेत पूजा गरिने भएकाले जात्राको महत्त्व अझ बढेको स्थानीयवासीको भनाइ छ। धार्मिक किंवदन्तीअनुसार भगवतीले चण्डासुर दैत्यको वध गरी देवताको रक्षा गरेको खुसीयालीमा यो जात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ।
जात्राको महत्त्वलाई ध्यानमा राख्दै बनेपा र आसपासका क्षेत्रका सङ्घसंस्था तथा विद्यालयहरू जात्रा अवधिभर बन्द गरिएको छ। मानन्धर, भोछिभोया, राजवाहकलगायत नेवार समुदायको सक्रिय सहभागिताले यो जात्रा अझ विशेष बन्ने गरेको छ।

