काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकालाई स्वच्छ, हरित र व्यवस्थित महानगरका रूपमा विकास गर्न १२ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।
संसद्मा सत्तारुढ दलका सांसदहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री रहमानले ढाका नर्थ र ढाका साउथ सिटी कर्पोरेसनले उक्त लक्ष्य प्राप्तिका लागि विभिन्न योजनाबद्ध पहल अघि बढाइरहेको जानकारी दिए।
गम्भीर वायु प्रदूषण, फोहोर व्यवस्थापनको चुनौती र सुक्खा मौसममा ‘अस्वस्थ’देखि ‘खतरनाक’ तहसम्म पुग्ने वायु गुणस्तरका कारण ढाका लामो समयदेखि वातावरणीय संकटसँग जुधिरहेको सन्दर्भमा सरकारको यो महत्वाकांक्षी योजना बुधबार सार्वजनिक भएको हो।
प्रधानमन्त्री रहमानका अनुसार योजनाको प्रारम्भिक चरणमै साप्ताहिक जनचेतनामूलक कार्यक्रम, व्यापक सरसफाइ अभियान तथा लामखुट्टे नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। साथै, प्रमुख फोहोर स्थानान्तरण केन्द्रहरूलाई आधुनिक बनाउँदै हरियाली प्रवर्द्धन, भूसौन्दर्यकरण र जनचेतनामूलक भित्तेचित्रमार्फत वातावरणमैत्री फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
शहरी हरियाली विस्तारलाई योजनाको मुख्य आधार बनाउँदै सडक किनार, सार्वजनिक स्थल र खुला क्षेत्रहरूमा वृक्षारोपण अभियान सञ्चालन गरिएको छ। आगामी पाँच वर्षभित्र ढाकाभरि पाँच लाख रूख रोप्ने लक्ष्य तय गरिएको प्रधानमन्त्री रहमानले बताए।
यस्तै, सार्वजनिक यातायातलाई स्वच्छ र आधुनिक बनाउने उद्देश्यले वातावरण विभाग र ढाका यातायात समन्वय प्राधिकरणको सहकार्यमा आधुनिक बस सेवा विस्तार तथा विद्युतीय बस सञ्चालनको तयारी भइरहेको जनाइएको छ।
जल प्रदूषण नियन्त्रणका लागि उद्योगहरूमा फोहोर प्रशोधन केन्द्र अनिवार्य गर्ने नीति पनि सरकारले अघि सारेको छ। यी सबै पहलले संयुक्त रूपमा ढाकालाई क्रमशः स्वच्छ, हरित र वातावरणमैत्री महानगरमा रूपान्तरण गर्ने विश्वास बङ्गलादेश सरकारले व्यक्त गरेको छ।

