काठमाडौं । नेपाल महिला क्रिकेट टोली आज आईसीसी महिला च्यालेन्ज ट्रफीअन्तर्गत भानुआटु महिला क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपालले हालसम्म ६ खेल खेल्दै ३ जित र ३ हारको नतिजा निकालेको छ।
नेपालले संयुक्त राज्य अमेरिकासँगका दुवै खेल गुमाएको थियो भने भानुआटुसँगको अघिल्लो भेटमा पनि पराजय बेहोरेको थियो। यद्यपि, रुवान्डालाई दुवै खेलमा हराउँदै तथा इटालीलाई पराजित गर्दै नेपालले पुनरागमनको संकेत दिएको छ।
यता भानुआटुले ७ खेलमध्ये केवल एक जित हात पारेको छ भने ६ खेलमा हार बेहोरेको छ। रोचक पक्ष के छ भने भानुआटुको एकमात्र जित नेपालविरुद्ध नै आएको थियो, जसले आजको खेललाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
रुवाण्डा क्रिकेट संघको आयोजनामा जारी पहिलो आईसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि सुरु भएको हो र प्रतियोगिता मे २ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका महिला क्रिकेट टोली, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली महिला क्रिकेट टोली, पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट भानुआटु तथा अफ्रिकाबाट आयोजक रुवान्डा महिला क्रिकेट टोली सहभागी छन्।
नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल मे १ मा इटालीसँग खेल्ने तालिका छ। आजको खेलमा जित निकाल्न सके नेपालको मनोबल मात्र बढ्ने छैन, अघिल्लो हारको हिसाब बराबरी गर्ने अवसर पनि मिल्नेछ।

