ब्रेकिङ : सहकारी ठगीमा सरकारको कडा एक्सन, पीडितको आशा फेरि जाग्यो
मणि गणेश सहकारीका अध्यक्षसहित सञ्चालक समिति प्रश्नको घेरामा
सुधिर कर्माचार्य | काठमाडौं
काठमाडौं । देशभर सहकारी संस्थाको नाममा सर्वसाधारणको बचत रकम ठगी गर्नेहरूविरुद्ध सरकार निर्मम रूपमा अघि बढेको छ। रकम हिनामिना गर्नेहरूको सम्पत्ति अंशबण्डा भइसकेको अवस्थामा समेत जफत गरिने संकेतपछि पीडितहरूमा न्याय पाउने आशा पुनः पलाएको छ।
राजधानीको न्यू रोड–खिचापोखरीस्थित मणि गणेश सहकारी सम्बन्धी विवाद फेरि चर्चामा आएको छ। सहकारीका अध्यक्ष राजेश राज कर्णिकार तथा सञ्चालक समितिका सदस्यहरू यतिबेला प्रश्नको घेरामा परेका छन्। पीडितहरूको आरोप छ कि लामो समयदेखि बचत रकम फिर्ताको विषयमा पटक–पटक छलफल भए पनि जिम्मेवार पक्षले नियम, कानुन र प्रक्रियाको बहाना बनाउँदै समय टार्ने काम मात्र गरेको छ।
पीडित समूहका अगुवा विजय चित्रकारसहितको टोलीले अध्यक्ष कर्णिकारको घर, कार्यालय तथा विभिन्न स्थानमा पुगेर पटक–पटक संवादको प्रयास गरे पनि कुनै ठोस निष्कर्ष ननिस्किएको गुनासो गरेका छन्। उनीहरूका अनुसार बचत रकम फिर्ता गर्ने वास्तविक इच्छा सहकारी पक्षबाट देखिएको छैन।
पीडितहरूले देशभर यस्ता धेरै सहकारी संस्था सक्रिय रहेको आरोप लगाउँदै सर्वसाधारणको पसिना र विश्वासमाथि खेलवाड गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन्। सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने उनीहरूको जोड छ।
सरकारको पछिल्लो कदमलाई पीडितहरूले “राम्रो सुरुवात” भन्दै स्वागत गरेका छन्। उनीहरूको एउटै माग छ— “बचत फिर्ता गर, दोषीलाई कारबाही गर।”
Previous Articleभानुआटुसँग आज नेपालको भिडन्त, हारको बदला लिने दाउमा महिला टोली
Next Article सुन्तलाको रुखबाट खसेर गयो ६८ वर्षीय किसानको ज्यान

