काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध तथा डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गर्ने घोषणा गरेको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आधुनिक प्रविधिमार्फत अपराध नियन्त्रण र अनुसन्धान प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो।
नीति तथा कार्यक्रममा लागुऔषध नियन्त्रण, अन्तरदेशीय तथा जटिल अपराध न्यूनीकरणका लागि प्रविधिको प्रयोग विस्तार गरिने उल्लेख छ। साथै नेपाल प्रहरीको भौतिक पूर्वाधार, अनुसन्धान क्षमता र उपकरणलाई आधुनिक बनाउँदै ‘फरेन्सिक’ तथा सूचना विश्लेषण प्रणालीलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
सरकारले राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउने, कारागारलाई सुधार गृहको अवधारणामा रूपान्तरण गर्ने तथा पुनःस्थापनामूलक दृष्टिकोण अवलम्बन गर्ने नीति पनि अघि सारेको छ।
त्यस्तै, कसुरजन्य सम्पत्ति जफत, व्यवस्थापन र असुली प्रक्रियालाई अझ प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख गरिएको छ।

