काठमाडौं । प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ। अहिले दिउँसो १ बजे बस्ने बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ।
यसपटक सरकारको नीति तथा कार्यक्रममाथिको बहस निकै सीमित बनाइएको छ। संसद्को क्यालेन्डरमा छलफलका लागि केवल एक दिन मात्र छुट्याइएपछि संसदीय अभ्यास र समय व्यवस्थापनमाथि प्रश्न उठ्न थालेका छन्। अघिल्लो वर्ष यही विषयमा लगातार तीन दिनसम्म छलफल भएको थियो।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रिबजेट छलफल बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअघि सकिनुपर्ने व्यवस्था छ। तर यसपालि समय अभाव देखाउँदै छलफलको सुरुआत नै जेठमा सारिएको छ। शुक्रबार सार्वजनिक संसद् क्यालेन्डरमा प्रिबजेट छलफलका लागि चार दिन छुट्याइएको भए पनि उक्त छलफल जेठ ६ गते मात्रै सकिने तालिका छ।
आजको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा पनि धारणा राख्नेछन् भने भोलि बुधबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सरकारले संसद् आह्वान भइसकेपछि पनि बैठक ढिलो गरी सञ्चालन गरेकाले नीति तथा कार्यक्रममाथिको छलफल मात्र होइन, सदनका अन्य नियमित कामकारबाहीसमेत प्रभावित हुने देखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। चालु अधिवेशनमै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि पेश गरिनेछ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने व्यवस्था छ।

