काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमार्फत फैलाउने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई हाल सुविधानगर बस्दै आएका ३८ वर्षीय निराजन शाही तथा धादिङको निलकण्ठ नगरपालिका–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेका छन्।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार उनीहरूले ह्वाट्स एपमा ‘कक्षा १२ व्यवस्थापन मात्र’ नामक समूह सञ्चालन गर्नुका साथै फेसबुक र मेसेन्जर ग्रुपमार्फत परीक्षा अगावै प्रश्नपत्र बाहिर पुर्याउने गतिविधि गर्दै आएका थिए।
प्रहरीका अनुसार उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।

