काठमाडौँ । नेपाली कांग्रेसले जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री बनाउने तयारी अघि बढाएको छ। कर्णाली प्रदेशमा हाल नेकपा (एमाले) का यामलाल कँडेल मुख्यमन्त्री छन्। उनी कांग्रेसको समर्थनमा सरकार सञ्चालन गरिरहेका हुन्।
दुई दलबीच भएको पूर्वसहमति अनुसार अब नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी गर्दै पार्टीले सत्ता हस्तान्तरणको तयारी तीव्र पारेको छ। सोही सहमतिअनुसार जीवनबहादुर शाहीलाई पुनः मुख्यमन्त्री बनाउने चर्चा अघि बढेको छ।
सुर्खेतमा सम्पन्न कांग्रेसको दुई दिने प्रदेश स्तरीय भेलामा पनि यो विषय प्रमुख रूपमा उठेको थियो। भेलाको उद्घाटन गर्दै गगन थापाले कर्णालीमा अब कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको बताएका थिए।
त्यस्तै, भेला सकेर मंगलबार काठमाडौँ फर्किने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति विश्वप्रकाश शर्मा ले शाहीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने संकेत गरेका छन्। उनले भनेका छन्, ‘कर्णालीको नेतृत्व कांग्रेसले गर्ने हो, अब तयार हुनुस् जीवन दाइ।’
उक्त अवसरमा कांग्रेस कर्णालीका सभापति ललितजंग शाही र संसदीय दलका नेता जीवनबहादुर शाही समेत उपस्थित थिए। नेताहरूबीच शाहीलाई मुख्यमन्त्रीका लागि तयारी अवस्थामा रहन स्पष्ट सन्देश दिइएको बताइएको छ।
यसअघि एमालेसँग भएको सहमतिअनुसार छिट्टै सत्ता हस्तान्तरण हुने नेताहरूको भनाइ छ। काठमाडौँ फर्केपछि कांग्रेस नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अन्तिम टुंगो लगाउने बताएका छन्।
‘कांग्रेस–एमालेबीच आलोपालो गरेर प्रदेश सरकारको नेतृत्व गर्ने सहमति थियो। सोहीअनुसार अब आजभोलि नै टुंगो लगाउँछौँ,’ विश्वप्रकाश शर्माले भने, ‘बजेटअघि मुख्यमन्त्री फेर्ने कि पछि भन्ने मुख्य कुरा आजै टुंगिन्छ।’
शाही यसअघि पनि कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेका छन् ।

