काठमाडौं । नेपालले लिपुलेक सम्बन्धी आफ्नो धारणा भारत र चीनसमक्ष कूटनीतिक माध्यमबाट औपचारिक रूपमा राखेपछि भारतले त्यसप्रति प्रतिक्रिया जनाएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणा पश्चात् उठेको सञ्चारमाध्यमको चासोबारे प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको दाबीलाई “आधारहीन तथा ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने” टिप्पणी गरेका छन् ।
भारतले लिपुलेक भञ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश–मानसरोवर यात्रा सञ्चालन हुँदै आएको दाबी गर्दै नेपालले जनाएको आपत्ति अस्वीकार गरेको छ ।
यस विषयमा चीनबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
भारतले सीमा विवाद समाधानका लागि नेपालसँग “रचनात्मक संवाद र अन्तरक्रिया” गर्न आफू सधैं तयार रहेको समेत जनाएको छ ।
लिपुलेक क्षेत्रलाई लिएर नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो दाबी दोहोर्याउँदै आएको छ भने भारतले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
यसले त्रिदेशीय सीमाक्षेत्रसँग जोडिएको यो विषय फेरि कूटनीतिक बहसको केन्द्रमा आएको छ ।

