काठमाण्डौ । बालबालिकालाई ललाई–फकाई कानमा लगाएको सुनका मुन्द्रा चोरी गर्ने आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पर्वत चापाकोट नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१० रामबजारमा बसोबास गर्दै आएकी २५ वर्षीया अम्बिका पुलामी मगर पक्राउ परेकी हुन् । उनलाई गत वैशाख १७ गते पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वैशाख ६ गते साँझ पोखरा महानगरपालिका–२५ हेम्जा रामचोककी ६ वर्षीया बालिकालाई ‘म तिम्रो ममीको साथी हुँ’ भन्दै विश्वास दिलाएर जुस, आइसक्रिमजस्ता खानेकुरा दिएर फकाइएको थियो । त्यसपछि बालिकाले कानमा लगाएका २८ लाल तौलका करिब एक लाख रुपैयाँ बराबरका दुईवटा सुनका मुन्द्रा चोरी गरिएको उजुरी प्रहरीमा परेको थियो ।
घटनापछि प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेजको अध्ययन गर्दा एक महिलाले स्कुटरमा राखेर बालिकालाई अन्यत्र लगेको दृश्य फेला परेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा प्रयोग गरिएको स्कुटर भाडामा लिइएको खुलेको र त्यसको विवरण पछ्याउँदै आरोपितसम्म प्रहरी पुगेको हो ।
प्रहरीले पक्राउ परेकी महिलामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
अनुसन्धानकै क्रममा आरोपित महिलाविरुद्ध यसअघि पनि चोरी तथा डाँका सम्बन्धी कसुरमा १८ वटा मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

