काठमाडौं । कटहरिया नगरपालिकामा ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय दुर्व्यवहार गरिएको छ । उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट जिल्लास्थित कटहरिया नगरपालिका–९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय केही व्यक्तिले ती महिलामाथि ‘बोक्सी’को आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए । घटनाका क्रममा पीडितमाथि अत्यन्त अपमानजनक र अमानवीय व्यवहार गरिएको जनाइएको छ ।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो । सोही आधारमा शंकर माझीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र सबै दोषीलाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन् ।
सामाजिक अन्धविश्वासका नाममा हुने यस्ता हिंसात्मक र अमानवीय घटनाले अझै पनि समाजमा चेतनाको अभाव र कानुनी कार्यान्वयनको चुनौतीलाई उजागर गरेको छ ।

