काठमाडौँ । आज बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालयहरूको पुनर्संरचना सम्बन्धी प्रस्तावमाथि महत्त्वपूर्ण छलफल हुने भएको छ । सरकार केही मन्त्रालय खारेज गर्ने, केहीलाई एकआपसमा गाभ्ने तथा कतिपय मन्त्रालयको नाम परिवर्तन गर्ने तयारीमा जुटेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार हाल कायम रहेका चार मन्त्रालय खारेज गर्ने र छ वटा मन्त्रालयको नाम परिवर्तन गर्ने गरी खाका अन्तिम चरणमा पुगेको छ । केही कार्यक्षेत्रलाई भने हालका मन्त्रालयबाट अलग्याएर प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष मातहत राख्ने योजना रहेको बताइएको छ ।
स्रोतका अनुसार मन्त्रालय मर्ज, खारेजी र पुनर्गठनसम्बन्धी विस्तृत प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । यसबारे छलफलपछि सरकारले प्रशासनिक संरचना पुनर्गठनतर्फ औपचारिक निर्णय लिन सक्ने सम्भावना रहेको छ ।
यसअघि सरकारले मन्त्रालयको संरचना पुनरावलोकन गर्न अर्थविद् एवम् प्रशासनविद गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले संघीय तहमा १७ मन्त्रालय मात्र कायम गर्ने सुझावसहित प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनलाई आधार बनाएर सरकार प्रशासनिक चुस्तता, खर्च नियन्त्रण र कार्यसम्पादन प्रभावकारिता बढाउने उद्देश्यका साथ मन्त्रालय पुनर्संरचनाको गृहकार्य अन्तिम चरणमा पुर्याएको बताइएको छ ।

