काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
दुवै टोलीको समान ३६ अंक रहेको छ। राम्रो रनरेटका आधारमा अमेरिका शीर्षस्थानमा रहेको छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छ। स्कटल्यान्डले २९ खेल खेलिसकेको छ भने अमेरिकाले २४ खेल मात्र खेलेको छ।
अमेरिका शीर्षस्थान कायम राख्ने लक्ष्यमा रहँदा स्कटल्यान्ड लिग २ को उपाधि जोगाउने दाउमा छ। अमेरिकाले नेपालको यस लिग २ शृंखलामा पहिलो पटक खेल्न लागेको हो।
नेपालमा हुने चार खेलमा आफूअनुकूल नतिजा निकाले अमेरिका लिग २ को विजेता बन्ने बलियो सम्भावना रहेको छ। स्कटल्यान्डले मंगलबार नेपाललाई २ रनले पराजित गर्दै अमेरिकासँग समान अंक बनाएको थियो।
जर्ज मुन्सीले ब्याटिङमा ७५ रन बनाएका थिए भने ब्राड कुरीले कसिलो बलिङ गर्दै ३ विकेट लिएपछि स्कटल्यान्डले कीर्तिपुरमा नेपालमाथि पहिलो जित दर्ता गरेको थियो।
स्कटल्यान्ड सन् २०२३ मा पछिल्लो पटक काठमाडौं आउँदा नेपालसँग दुवै खेलमा पराजित भएको थियो। तर नामिबियालाई दुवै खेलमा हराउँदै स्कटल्यान्ड नेपाली भूमिमै लिग २ को विजेता बनेको थियो।
अमेरिका सन् २०२० यता पहिलो पटक नेपाल आएको हो। अमेरिका पछिल्लो पटक काठमाडौं आउँदा नेपाल र ओमानसँग २–२ खेलमै पराजित भएको थियो।
त्यसक्रममा नेपालसँगको खेलमा टोली ३५ रनमै अलआउट भएको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा सानो स्कोर बनेको थियो।
नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले टोली सम्हालेयता अमेरिका पूर्ण रूपमा बदलिएको छ र लगातार जित निकाल्दै आएको छ।

