काठमाडौँ । सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा थप एक व्यवसायी पक्राउ परेका छन् । यस प्रकरणमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)**का अनुसार चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी घर भएका तथा हाल काठमाडौँको बूढानीलकण्ठ–९, मण्डिखाटार बस्दै आएका ७० वर्षीय गौलीलाई आज (बुधबार) पक्राउ गरिएको हो ।
प्रहरीले उनीमाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।
यसअघि यही प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा १० जना व्यवसायी रहेको प्रहरीले जनाएको छ । सार्वजनिक खरिद प्रणालीमै अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण फेरबदल गरिएको आरोपसहित अनुसन्धान तीव्र बनाइएको छ ।

