काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै पत्रमार्फत राजीनामा बुझाएका हुन् ।
वि.सं. २०७८ फागुन ९ गते तरुण दलको अध्यक्षमा मनोनित भएका गुरुङले पार्टी निर्माणको अभियानलाई सहज वातावरणमा अघि बढाउने विश्वासका साथ पद त्यागेको बताएका छन् ।
राजीनामा सन्देशमा उनले आफ्नो कार्यकालभर साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । साथै, पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो कार्यकालमा तरुण दलको अधिवेशन सम्पन्न गराउन नसकिएको उल्लेख गरेका छन् ।
गुरुङले आगामी दिनमा पनि तरुण दललाई यसको मूल मर्म, भावना र संगठनात्मक उद्देश्यअनुरूप अझ सशक्त, संगठित र पार्टीप्रति क्रियाशील बनाउन आफूले सक्दो सहयोग र जिम्मेवारी निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

