म्याग्दी। अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।
ढुङ्गा र माटोसहितको पहिरो खस्दा ७६ किलोमिटर दूरीको उक्त सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक बन्द भएपछि बेनीदेखि मुस्ताङ तथा जोमसोमतर्फ आवतजावत गरिरहेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ दर्शनका तीर्थयात्री प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सडक विभागका उपकरण परिचालन गरेर पहिरो पन्छाउने प्रयास भइरहेको छ।
महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट पटक–पटक पहिरो खस्ने गरेको छ। सामान्य वर्षा हुँदा पनि लेदोसहितको पहिरो झर्ने भएकाले यातायात अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको स्थानीयले बताएका छन्।

