काठमाडौं । सहकारी संस्थामा जम्मा गरेको आफ्नै बचत रकम फिर्ता लिनका लागि “सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)” को सदस्यता लिन बाध्य बनाइएको भन्दै बचतकर्ताहरू आक्रोशित बनेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर, फाराम तथा विवरणहरूमा बचतकर्ताबाट सदस्यता शुल्कको नाममा रकम असुल गरिएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा भाइरल बनेका पोस्टहरूमा “आफूले खान नखाई, दुःख गरेर जम्मा गरेको रकम फिर्ता लिन पनि किन सदस्यता लिनुपर्छ ? यस्तो उर्दी कसको निर्देशनमा जारी गरिएको हो ?” भन्दै तीव्र प्रश्न उठाइएको छ। केही बचतकर्ताले प्रति खाता पाँच सय रुपैयाँसम्म उठाइएको दाबी गर्दै उक्त रकमको पारदर्शिता र वैधानिकतामाथि समेत प्रश्न गरेका छन्। पीडितहरूको भनाइ अनुसार सहकारीबाट आफ्नो बचत फिर्ता पाउने आशामा धेरै व्यक्ति बाध्यतावश सदस्यता लिन पुगेका छन्। उनीहरूको आरोप छ सहकारी पीडितको संवेदनशील अवस्थालाई प्रयोग गरेर थप आर्थिक भार थोपर्ने काम भइरहेको छ।
सार्वजनिक तस्वीरहरूमा “सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)” नाम उल्लेख भएका फाराम, परिचयपत्र तथा सदस्यता सम्बन्धी कागजातहरू देखिएका छन्। यसले सामाजिक सञ्जालमा थप बहस सिर्जना गरेको छ।
कतिपय बचतकर्ताले भने यस्तो सदस्यता अभियानको उद्देश्यप्रति नै आशंका व्यक्त गरेका छन्। उनीहरूको दाबी अनुसार केही व्यक्तिहरूले सहकारी पीडितको भावनालाई प्रयोग गर्दै संगठन विस्तार, शक्ति प्रदर्शन वा सम्भावित चुनावी खर्च व्यवस्थापनका लागि सदस्यता अभियान चलाएको हुन सक्ने आशंका बढ्दै गएको छ। यसैबीच, सरकारले यस्ता संघ,महासंघलाई आधिकारिक मान्यता दिएको हो वा होइन भन्ने विषयमा समेत प्रश्न उठ्न थालेको छ। बचतकर्ताहरूले सम्बन्धित सरकारी निकायसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।
पीडितहरूको माग छ:-
बचत फिर्ता प्रक्रियालाई कुनै संघ वा सदस्यतासँग जोडिनु हुँदैन
पीडितमाथि थप आर्थिक भार थोपर्न बन्द गरिनुपर्छ
उठाइएको सदस्यता शुल्कको पारदर्शी हिसाब सार्वजनिक गरिनुपर्छ। सहकारी पीडितको नाममा हुने सम्भावित दुरुपयोग रोक्न राज्यले निगरानी बढाउनुपर्छ।
यस विषयमा सम्बन्धित महासंघ तथा सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन। तर बचतकर्ताहरूले आफ्नो पीडामाथि थप खेलवाड नगर्न र पारदर्शी ढंगले समाधान खोज्न सम्बन्धित पक्षसँग माग गरेका छन्।
Previous Articleपुतलीबजारका वडा अध्यक्ष थापाका खुल्दै एक पछि अर्को कर्तुत
Next Article महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

