काठमाण्डौ । मानव बेचबिखन मुद्दामा स्याङ्जा जिल्ला स्थित पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।
पीडितको उजुरीपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो।
ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा थापा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचित भएपछि करिब १५ महिना जिम्मेवारी सम्हालेका उनले २०८० भदौ १५ गते स्वास्थ्य उपचारको कारण देखाउँदै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी सुम्पेर सम्पर्कविहीन बनेका थिए।
दुई महिनाअघि मात्र नेपाल फर्किएका थापाले अमेरिका बसाइका क्रममा पनि नगरपालिकाबाट २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत दुई लाख ७६ हजार १९० रुपैयाँ बुझेको खुलेको छ।

