काठमाण्डौ । नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई मनोनीत गरेका छन् ।
पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा (१०) बमोजिम सभापति थापाले विभिन्न जिल्ला र समूहको प्रतिनिधित्व हुने गरी नेताहरूलाई सोमबार केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
मनोनीत हुनेहरूमा महेन्द्र यादव (धनुषा), जीवन परियार (कास्की), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडु (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बू) र दिनेशकुमार यादव (सप्तरी) रहेका छन् ।
त्यस्तै, राजीव कोइराला (सुनसरी), राजीव ढुंगाना (सुनसरी), गोविन्दराज पोखरेल (प्युठान), सुशीला मिश्र भट्ट (कैलाली), नागिना यादव (महोत्तरी), दिनेश कोइराला (चितवन), डा. जीवन राना (कैलाली) र सीता थपलिया ‘उर्मिला’ (धादिङ) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पहिलोपटक केन्द्रीय कार्यसमितिमा १९ जना सदस्य मनोनयन गरेका हुन् । मनोनयनलाई पार्टीभित्र देउवा र शेखर समूहबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

