काठमाण्डौ । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्रीको संसदीय व्यवहारप्रति कडा असन्तुष्टि जनाउँदै संसद् र संवैधानिक पद्धतिमाथि भइरहेको गतिविधिलाई अराजकतामूलक प्रवृत्तिको संज्ञा दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री स्वयं बैठक छोडेर बाहिरिनु संविधान, संसद् र लोकतान्त्रिक मूल्यप्रतिको ठाडो उपहास भएको टिप्पणी गरिन्।
उनले सडकमा स्टन्ट देखाउनु र राष्ट्रको सर्वोच्च गरिमा बोकेको संसद् सञ्चालन गर्नुबीच आकाश–जमिनको फरक हुने उल्लेख गर्दै जिम्मेवार पदमा बसेका व्यक्तिले पद्धति र मर्यादालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
“अराजकताले क्षणिक चर्चा त दिलाउन सक्छ, तर लोकतन्त्र र संस्थागत प्रणाली जोगाउन सक्दैन,” भन्दै उनले संसद्लाई ‘फेसबुक वाल’ जस्तो व्यवहार गर्न नमिल्ने चेतावनी दिएकी छन्।
डा. संग्रौलाको भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। पछिल्लो समय संसद् बैठक, राजनीतिक आचरण र जिम्मेवार नेतृत्वबारे उठिरहेका प्रश्नबीच उनको अभिव्यक्तिलाई सत्ता नेतृत्वप्रतिको तीव्र राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

