काठमाडौँ । इरानले युद्धलाई निरन्तरता दिने कि वार्तामार्फत समाधानतर्फ अघि बढ्ने भन्ने निर्णय अब अमेरिकाको हातमा रहेको स्पष्ट पारेको छ। तीन सातादेखि युद्धविराम कायम रहे पनि दुई देशबीच स्थायी शान्ति सम्झौता भने अझै हुन सकेको छैन।
यसअघि इरानले अमेरिकासँगको द्वन्द्व स्थायी रूपमा अन्त्य गर्ने प्रस्ताव पाकिस्तानमार्फत पठाएको जनाएको थियो। तर द्ल्डोनाल्ड ट्रम्पले शुक्रबार उक्त प्रस्तावप्रति आफू सन्तुष्ट नरहेको प्रतिक्रिया दिएका थिए।
त्यसको भोलिपल्ट इरानका उपविदेशमन्त्री काजम गरिबाबादीले तेहरानमा आयोजित एक भेटघाट कार्यक्रममा अबको बाटो अमेरिकाले नै तय गर्ने बताए। केही देशका राजदूतहरूसँगको भेटमा उनले युद्ध अन्त्यका लागि इरानले अघि सारेको प्रस्तावबारे जानकारी गराउँदै भने, “अब निर्णय अमेरिकाको हातमा छ— उसले वार्ताको मार्ग रोज्छ कि टकरावलाई निरन्तरता दिन्छ।”
तीन हप्तादेखि युद्धविराम कायम रहे पनि वाशिङ्टन र तेहरानबीच अविश्वासको दूरी कायमै देखिएको छ। त्यसैले आगामी कदमले क्षेत्रीय राजनीति मात्रै होइन, विश्व शान्ति र ऊर्जा सुरक्षामा समेत गहिरो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

