अम्बिका वाईवा
डोजरको गर्जनसँगै बिहान टुट्छ,
निद्रा होइन—घर नै भत्किन्छ।
धुलोले ढाक्छ सपना र सम्झना,
राज्यको आँखा तर कतै अड्किन्छ।१।
हामी भाग्छौं—लखेटिएका छायाँझैँ,
कागज छैन, तर जीवन त छ नि!
गल्ती के हो—गरिब जन्मिनु मात्रै?
न्याय कहाँ छ, जवाफ कसले दिन्छ नि?२।
छानो चुँडिन्छ, आँगन हराउँछ,
बालकको खेल पनि बाटोमै हराउँछ।
आमाको काखमा डरको थरथर,
भोलिको आशा पनि आँसुमै बगाउँछ।३।
रोजगारी छैन, पेटको आगो बल्छ,
श्रम बेच्दा पनि बजार चुप बस्छ।
खाली हात, तर दोषी हामी नै,
यो कस्तो नियम, यो कस्तो व्यवस्था सच्चै?४।
हे सरकार! डोजरभन्दा ठूलो देश बनाऊ,
मानवता बचाऊ, न्यायलाई बचाऊ।
घर भत्काएर होइन, सपना जोडेर,
यही भूमिमा सबैलाई ठाउँ दिलाऊ।५।

