काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनेन्द्र कार्की ‘विजय’ले मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार एक पोस्ट गर्दै उनले आफूलाई विश्वास गरी अमूल्य मत दिएकोमा मतदाता तथा नागरिकप्रति कृतज्ञता व्यक्त गरेका छन्।
कार्कीले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धि नभई समग्र सिन्धुलीवासीको साझा जितका रूपमा लिन आग्रह गरेका छन्। उनले लोकतन्त्रको मर्यादा कायम गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएका प्रतिस्पर्धी उम्मेदवारहरूलाई पनि धन्यवाद दिएका छन्।
साथै उनले देशका महान शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
निर्वाचनपछिको समय पार्टी र सिद्धान्तका आधारमा विभाजित भएर होइन, एकताका साथ जिल्लाको समुन्नति, सुशासन र सकारात्मक परिवर्तनका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
समाजमा रहेका विकृति र विसङ्गतिहरू अन्त्य गर्न नागरिकबीच एकता, आपसी सद्भाव र सम्मान आवश्यक रहेको उनको भनाई छ। सबैले हातेमालो गर्दै अघि बढे समृद्ध सिन्धुली आफ्नै पालामा सम्भव हुने विश्वास उनले व्यक्त गरेका छन्।
कार्कीले चुनावी प्रक्रियामा सहयोग गर्ने रास्वपा सिन्धुलीका कार्यकर्ता तथा युवाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। वर्षौँदेखि गरिएको मेहनत र संघर्षका कारण आजको सफलता सम्भव भएको उनको भनाइ छ।
निर्वाचन परिणामपछि उनले सबैलाई आ–आफ्नो गाउँ र घरमा शान्तिपूर्ण तरिकाले विजय उत्सव मनाउन आग्रह समेत गरेका छन्।

