काठमाडौं । पेन्टागनले इरानविरुद्ध हप्तौँसम्म चल्न सक्ने जमिनमा आधारित सीमित सैन्य कारबाहीको सम्भावित योजना तयार गरेको खुलासा भएको छ।
द वासिङ्टन पोस्ट को रिपोर्टअनुसार, गोप्य अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणले राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएमा युद्धको नयाँ र जोखिमपूर्ण चरण सुरु हुन सक्ने संकेत गरेको छ।
रिपोर्टका अनुसार प्रस्तावित योजना पूर्णस्तरको आक्रमण नभई “छापामार शैली” को सीमित कारबाही हुनेछ, जसमा अमेरिकी विशेष बल र परम्परागत पैदल सेना परिचालन गरिनेछ।
तीन मुख्य लक्ष्य
अमेरिकी योजनामा तीन प्रमुख उद्देश्य राखिएको जनाइएको छ:
इरानको ९० प्रतिशत तेल निर्यात हुने रणनीतिक खार्ग टापु नियन्त्रण वा त्यहाँका सैन्य पूर्वाधार ध्वस्त पार्ने
होर्मुज जलमार्ग नजिक रहेका मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल नष्ट गर्ने
संवर्धित युरेनियमसहितका आणविक संरचनालाई नियन्त्रण वा नष्ट गर्ने
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले ३१ औँ मरिन एक्सपेडिसनरी युनिटका करिब ३,५०० सैनिक ‘यूएसएस त्रिपोली’ मार्फत मध्यपूर्वमा तैनाथ गरिएको जनाएको छ। ती सैनिकसँग अत्याधुनिक F-35 फाइटर जेटसहितका युद्ध सामग्री रहेका छन्।
ट्रम्पको चेतावनी, इरानमाथि दबाब
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै होर्मुज जलमार्गमा अवरोध जारी राखे कडा सैन्य प्रतिक्रिया दिन तयार रहेको बताएकी छन्। अमेरिकाले इरानलाई १५ बुँदे शान्ति प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको छ।
विज्ञको चेतावनी: उच्च जोखिम
सैन्य विज्ञहरूका अनुसार इरानमा प्रत्यक्ष सैनिक पठाउनु अमेरिकाका लागि अत्यन्त जोखिमपूर्ण हुन सक्छ। इरानसँग रहेका ड्रोन, मिसाइल र भूमिगत विस्फोटक संरचनाले अमेरिकी फौजलाई ठूलो क्षति पुर्याउन सक्ने उनीहरूको भनाइ छ।
विज्ञ माइकल आइजेनस्टाटका अनुसार सीमित संख्यामा सैनिक पठाउँदा उनीहरू सजिलै निशाना बन्न सक्ने भएकाले सुरक्षा र गतिशीलता ठूलो चुनौती हुने छ ।

