पर्सा । वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु पाँच खर्ब ९५ अर्ब ४६ करोड बराबरका वस्तु तथा सामान आयात भएका छन्।
भन्सार कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ५८ अर्ब ९१ करोड अर्थात् करिब ११ प्रतिशतले बढी हो। गत आवको सात महिनामा भने रु पाँच खर्ब ३६ अर्ब ५५ करोड बराबरका सामान भित्रिएका थिए।
सूचना अधिकृत उदयसिंह विष्टका अनुसार यस नाकाबाट आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ र फलामजन्य सामग्रीको हिस्सा सबैभन्दा ठूलो रहेको छ। चालु आवको सात महिनामा मात्र रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन् भने रु ५२ अर्ब ७५ करोड मूल्यका फलाम तथा फलामजन्य सामग्री भित्रिएका छन्।
यसैगरी, रु ४२ अर्ब ४८ करोड बराबरका मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोडको भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोडका इलेक्ट्रिक उपकरण तथा पार्टपुर्जा, रु २८ अर्ब ५९ करोडको मलखाद र रु २३ अर्ब ७१ करोड बराबरका कपडा आयात भएका छन्।
वीरगञ्ज नाका मुलुकको प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा रहँदै आएको छ, जहाँबाट अधिकांश औद्योगिक कच्चा पदार्थदेखि उपभोग्य वस्तुसम्म भित्रिने गरेका छन्।

